गौरव पोखरेल,
वैशाख–२९, झापा । मंगलबार मध्यान्ह १२ः५० बजे । अधिकांस बालबालिकाहरु विद्यालयको कक्षा कोठामा नै थिए । गत बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पको पराकम्पन कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै थियो । लामो समयसम्म बन्द भएको विद्यालय सञ्चालनमा आएसँगै बालबालिकाहरु त्रासदीपूर्ण वातावरणमा नै भएपनि शिक्षा आर्जन गर्न विद्यालयतर्फ होमिएका थिए ।
तर, मंगलबार मध्यान्ह जिल्लाका सम्पूर्ण विद्यालयहरुमा हठात् भागदौड मच्चियो । बालबालिकाहरु तितरवितर भए । कक्षा कोठाका विद्यार्थीहरु एक्कासी चौरमा निस्किन पुगे । “भूकम्प !! भूकम्प !!” चारै तिर मानिसहरुको आवाज गुञ्जिन पुग्यो । यसको प्रत्यक्ष प्रभाव बालबालिकामा प¥यो । विद्यालयमा रहेका बालबालिकाहरुको मानसपटलले शिक्षकको निर्देशन मानेन । उनीहरु सबै एक्कासी कक्षा कोठाबाट बाहिरिए । कतिपय बालबालिकाहरु विद्यालयमा मध्यान्हको खाजा खाँदै थिए । कतिपय भने शिक्षण सिकाइ क्रियाकलापमा नै सरिक थिए ।
विद्यालयको पाले दाईले छुट्टीको घण्टी बजाएपछि मात्र विद्यालयबाट निस्किने बालबालिकाहरु मंगलबार मध्यान्ह कक्षाकोठामा नै आफ्नो पुस्तकहरुको भएको झोला छाडेर चौरमा पुगे । तत् पश्चात उनीहरु सबै कुरा विर्सिएर आफ्नै घर तर्फ हानिए । विद्यालय अघोषित रुपमा बन्द हुन पुग्यो ।
गत वैशाख १२ गते आएको ७ दशमलब ८ रेक्टर स्केल म्याग्निच्यूटको महाभूकम्पले हजारौंको जनधनको क्षति गएको १८ औं दिन मंगलबार पुनः स्थिति असामान्य बन्यो । सर्वसाधारण सडकमा उत्रिए । बालबालिकाहरुको विद्यालयमा भागाभाग मच्चियो । भूकम्पको त्रास अन्त्य हुँदै गएको आम जनमानसले आभास गरेका थिए । तर, मंगलबार मध्यान्ह १२ः५० मा गएको ७ दशमलब ४ रेक्टर स्केलको भूकम्प पछि अहिले पुनः स्थिति असामान्य बनेको छ ।
“म त कक्षा कोठामा थिएँ । सर कक्षामा प्रवेश गर्नु भएकै थिएन ।”, विभूति विद्या मन्दिर चन्द्रगढीको कक्षा १० मा अध्ययरत छात्रा शुभेक्षा घिमिरेले भनिन्, “सबैले भूकम्प भने पछि त झनै डर लाग्यो । खुर्रर खुदेर सबैभन्दा पहिले म नै चौरीमा पुगें ।”
यता कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाको कक्षा ९ मा शिक्षक टीकाप्रसाद कडेँलले पढाइ रहेको थिए । “मेरो सबै साथीहरु चिच्याउँदै कुद्न थाले ।”, त्यही कक्षाकी विद्यार्थी पुजा लिम्बूले भनिन्, “सबै जना कुदे पछि म पनि चौरी तिर लागँे ।” कनकाई उच्च माध्यमिक विद्यालय पनि भूकम्पको झट्का महसुस भए लगत्तै बन्द भएको थियो ।
“हामी त खाजा खाँदै थियौं ।”, ब्राइट फ्युचर अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत बन्दना घिमिरेले भनिन्, “भूकम्प आएपछि म त साथीको हात समाएर चौरीमा बसेँ ।”
गत वैशाख १२ गते यता पटकपटक महसुस भइरहेको भूकम्पको धक्काले बालबालिकाहरुमा एक किसिमको त्रासदीपूर्ण अवस्था सिर्जना भएको छ । उनीहरुमा भूकम्पको भयले मानिसक रोग लाग्न सक्ने सम्भावना पनि प्रबल रुपले बढेको छ । भूकम्पको त्रासले बालबालिकाहरुमा रिगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखिन थालेको छ । भूकम्पको त्रासले बालबालिकाहरुले आफू बसको ठाउँ सामान्य रुपले हल्लिदा समेत भूकम्प गए जस्तो महसुस गर्न थालेका छन् । कतिपय शौचालय जादाँ समेत छिट्टै निस्किने गरेको बताउँछन् ।
यता भूकम्पको पुनः दोस्रो ठूलो धक्का महसुस भए पछि विद्यालयहरु फेरि २ साता बन्द हुने भएका छन् । मंगलबार ७.४ रेक्टर स्केलको ठूलो भूकम्पको कम्पन महसुस भए पछि बालबालिकाहरुमा त्रास झनै बढ्दै जाँदा नेपाल सरकारले २ साता विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
“भूकम्प जाने क्रम अब चाहिँ रोकिएको हो कि भन्ने भान हुन थालेको थियो ।”, सञ्चारकर्मी जनार्दन निरौलाले भने, “तर भूकम्पले नछाड्ने रहेछ ।” सर्वसाधारण हुन् या संसद्को वैठकमा रहेका नेताहरु नै किन नहुन् भूकम्पले तर्सिएको अवस्था छ । कतिवेला भूकम्प आउने हो र क्षति हुने कसैलाई अत्तोपत्तो छैन । नेपालमा आएको यो विपत्तिले ठूलो जनधनको क्षति गरिसकेको अवस्थामा पुनः अर्को ठूलो भूकम्प जाँदा नेपालीहरु हाल प्राकृतिक विपत्तिसँग जुध्न राम नाम जपेर बस्न थालेका छन् ।
0 comments:
Post a Comment
कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।