Preeti to Unicode

सडक बालबालिकादेखि राष्ट्रपतिसम्म सडकमा



  • शुक्रबार २५ बैशाख, २०७२
  • गौरव पोखरेल
  • ‘अपुइ... घर हल्लायो।', तोते बोलीमा झापा कन्काई नगरपालिका–३, सुरुङ्गाकी ३ वर्षिया नुरिना भेटवालले भनिन्– ‘भुइँचालो कता छ?' मंगलबार बिहान ३ वर्षिया नुरिनाको घरमा यो पंक्तिकार हठात् ढोका ढक्ढक्याउन पुग्दा उनी तर्सिइन्। मैले ढोका ढक्ढक्याउँदासमेत उनलाई भुइँचालो आएझैँ लागेको रहेछ। नेपालमा अघिल्लो शनिबारयता क्रमशः पटकपटक भूकम्पका शृंखला दोहोरिने क्रम जारी छ।

    आज नेपालको यो विनाशकारी प्रकोप अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। वास्तवमै यो प्रकोपले नेपालमा विश्वसम्पदामा सूचीकृतसहित अन्य महत्वपूर्ण संरचनालाई इतिहासमा परिणत गरिदिएको छ। कतिपयलाई भग्नावशेष बनाइदिएको छ भने कतिको स्वरूप नै परिवर्तन गरिदिएको छ। संसारमा हुने गरेका जति पनि हिंसात्मक घटना हुन् या विनाशकारी प्रकोप या सशस्त्र संघर्ष नै किन नहुन्, यी सबैबाट बालबालिका भने बढी नै पीडित हुने गरेका छन्। बालबालिकापछि महिला, वृद्धा र अपाङ्गहरु प्रभावित हुने गरेका छन्। 

    शनिबार मध्याह्न ७.९ रेक्टर स्केल म्याग्नेच्युटको कम्पनपछि पनि पटकपटक ठूला तथा स–साना भूकम्पनहरुको धक्का आभाष भइरहेको छ। यस विध्वंशकारी भूकम्पले नेपालमा ठूलो विनाश निम्त्याएको छ। हजारौं घरवारबिहीन भएका छन्। कतिपय अङ्गभङ्ग भएका छन्। अस्पतालमा घाइतेहरुको ताँती लागेको छ। कतिपयको घर चर्किएर कति बेला आफ्नो बासस्थान भग्नावशेषमा परिणत हुने हो त्यसको प्रतीक्षामा छन्। नवजात शिशुदेखि वयोवृद्धसम्मको मृत्युवरणको खबरले सञ्चार माध्यम भरिएका छन्। पेट्रोलियम पदार्थ अनि खाद्यान्नको अभाव सुरु भएको छ। बिरामीको चाप थेग्न नसकेर अस्पतालहरुले खुल्ला चौरमा नै अन्तरङ्ग तथा बहिरङ्ग सेवा दिइरहेको अवस्था छ। समष्टिगतरूपमा भन्दा अझै पनि आमनेपाली जनमानसमा एक किसिमको त्रासदीपूर्ण अवस्था छ। 

    वास्तवमा नितान्त जिज्ञासु र संवेदनशील बालबालिका भूकम्पबाट बढी त्रसित छन्।  गाउँ सहर अनि सामाजिक सञ्जालमा झन् ठूलो भूकम्प आउँछ भन्ने अनाहकको हल्ला व्यापक छ। तर भूकम्पविद्हरुले यस किसिमको हल्ला निराधार भएको बताएका छन्। यस किसिमको हल्लाले समेत प्रत्यक्ष तथा परोक्षरूपमा बालबालिका बढी पीडित भएको अवस्था छ। आमनागरिक भूकम्पको डरमा राति तथा दिउसो घरबाहिरै चोक, चौर, सडक तथा खुला स्थानमा बसिरहेको अवस्था छ। सबै मानिस घरबाट बाहिर निस्किएको समयमा चोरी, डकैती जस्ता अपराधजन्य गतिविधिको सम्भावना बढ्दै गएको छ। यसतर्फ सबै सचेत हुनु जरुरी छ। विशेषतः प्रहरी प्रशासनले अनुचित गतिविधि हुन नदिन तदारुकताका साथ प्रभावकारी भूमिका खेल्नुपर्छ। 

    यता बाल मनहरुको कलिलो मानसपटलमा अभिभावकहरुले भूकम्प आउँछ भन्ने जस्ता नकारात्मक कुराहरु उब्जन नदिने परिस्थिति सिर्जना गर्नुपर्छ। यस ठाउँमा यति जना मरे रे! यस ठाउँमा यति जना घाइते भए! जस्ता विषयहरु कलिला बालमनहरुका अगाडि नभन्दा नै राम्रो हुन्छ। यस्तो अवस्थामा बालबालिकालाई अभिभावकले ‘अब भूकम्प आउँदैन! आए पनि ठूलो आउँदैन' जस्ता कुरा गरेर बालबालिकाको मस्तिष्कबाट त्रास हटाउने प्रयास गर्नु जरुरी छ। नत्र बालबालिकालाई भूकम्पको भयले मानसिक रोग लाग्ने सम्भावनासमेत प्रवलरूपमा बढेर जान सक्छ। 

    नेपाली सेनाको उद्धार टोलीले भक्तपुरमा भूकम्पबाट पीडित ४ महिनाको शिशुलाई २२ घण्टापछि जीवितै उद्धार गरेको समाचार सञ्चार माध्यममा आएको छ। यसरी शिशुको जीवितै उद्धार गरिएको घट्ना विरलै मात्रामा पाइने गरिएको छ। यो घटना त एउटा प्रतिनिधि मात्र हो। अहिले पनि कतिपय बालबालिका उद्धारको पर्खाइमा छन्। भविष्यलाई रङ्गिन बनाउने हेतुले संघर्षको श्रीगणेश गर्न लागेका कतिपय बाल मनहरुको विनाशकारी भूकम्पले घाँटी निमोठिदिएको छ। कतिपयलाई अङ्गभङ्ग बनाइदिएको छ। कतिपयलाई अनाथ बनाइदिएको छ। कतिपयको परिवारलाई घरबारबिहीन बनाइदिएको छ। कतिपय जीवितै रहे पनि उनीहरुको खानपिन र बासस्थानको टुङ्गो छैन। निरन्तर ‘जंक फुड' को सेवनले त्यस्ता बालबालिकामा झन् स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेको छ।  
    बालबालिकामा भूकम्पको त्रासले अहिले पनि रिंगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखिन थालेको छ। भूकम्पको त्रासले गर्दा बालबालिका पात हल्लिँदासमेत भूकम्प जान आँटेको सम्झी त्रसित हुने गरेका छन्। भूकम्पको त्रासले कतिपय शौचालय जाँदासमेत १ मिनेटभित्रैमा निस्कने गरेको बताउँछन्। घरभित्रका कुनै पनि काम गर्दा मानिसले नितान्त तीव्ररूपमा गर्ने गरेका छन्। एक किसिमले भन्दा मानिसलाई भूकम्पले ‘तह' लगाइदिएको छ।

    यता भूकम्पबाट पीडित बालबालिकाका लागि राहत तथा सहयोग जुट्ने क्रम पनि जारी छ। विश्व चर्चित कोरियन खेलाडी किम युनाले नेपालका भूकम्पपीडित बालबालिकालाई १ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेकी छिन्। यता विनाशकारी महाभूकम्पबाट अनाथ हुन पुगेका बालबालिकाका लागि नेपालका विभिन्न जिल्ला/क्षेत्रमा रहेका एसओएस बालग्रामहरूले आश्रय दिने भएका छन्। भूकम्पका कारण अभिभावक गुमाउने बालबालिकालाई एसओएसमा आश्रय दिइने एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानांगलले घोषणा गरेका छन्। अहिलेसम्म पनि महाभूकम्पबाट पीडितहरुको एकिन तथ्याङ्क सार्वजनिक भइनसकेको अवस्थामा भूकम्पबाट पीडित बालबालिकाको संख्या बढ्ने निश्चित छ। एसओएसलेे काठमाडौं उपत्यकालगायत काभ्रे, पोखरा, भरतपुर, इटहरी, भैरहवा, सुर्खेत र कैलालीका बालग्रामहरूमा भूकम्पपीडित बालबालिकालाई आश्रय दिने बताएको छ।

    सबैभन्दा बढी बालबालिकालाई यो महाविनाशकारी भूकम्पले प्रभाव पारेको छ। बालबालिका शारीरिकरूपमा कमजोर हुने हुँदा उनीहरु नै सधैँजसो हिंसा, विनाश र सशस्त्र द्वन्दबाट पीडित हुने गरेका छन्। यतिञ्जेलसम्म ५ हजारभन्दा बढीको संख्यामा नेपाली मारिएका छन् भने त्यसमा कति बालबालिका परे भन्ने कुनै तथ्यांक पाइँदैन। तर यो विनाशकारी भूकम्पका कारण सयौं बालबालिका पीडित भएका छन्। घाइते भएका छन्। मानसिकरूपमा आघातमा  छन्। बिरामी भएका छन्। अभिभावक गुमाउन पुगेका छन्।

    भूकम्पका कारण विद्यालय बन्द छन्। परीक्षा स्थागित भएका छन्। जसले शिक्षामा समेत प्रत्यक्ष तथा परोक्षरूपमा असर पारेको छ। भूकम्पको आतंकका कारण बालबालिकामा मनोसामाजिक समस्याको असर देखिन थालेको छ। यस्तो अवस्थामा सञ्चार माध्यम, अभिभावक तथा सम्बन्धित निकायले बालबालिकालाई त्रास एवम् भयबाट मुक्त गराउन प्रभावोत्तेजक भूमिका खेल्नु जरुरी छ। सञ्चार माध्यममा भूकम्पबाट पीडितहरुको विभत्स तस्बिर प्रकाशन/प्रशारणमा रोक लगाइनुपर्छ। पुनः भूकम्प आउने सङ्केत जस्ता भाव झल्काउने समाचार तथा समाचार सामग्री प्रकाशन/प्रशारणमा पूर्णरूपमा रोक लगाइनुपर्छ। अभिभावकहरुबाट पनि बालबालिकालाई भूकम्पबारे सचेत गराई यसबाट बच्ने उपायबारे सजग गराउन जरुरी छ। यसका साथै विश्वमा नै बालबालिकासँग सम्बन्धित पहिलो दस्तावेज सन् १९२३ मा एग्लानटाइन जेवद्वारा तयार गरिएका बाल अधिकारसम्बन्धी ७ सन्देशमा उल्लेख भएको दुःख, संकट र प्रकोप परेको बेलामा सबभन्दा पहिला बालबालिकाको उद्धार गरिनुपर्ने कु्रालाई सम्बन्धित निकायले मनन् गरिदियोस्। जुन कुरालाई पछिल्ला समय बालबालिकाका क्षेत्रमा पारित भएका दस्तावेज एव्म कानुन, सन्धिहरुले सम्बोधन गरिसकेका छन्।

    निष्कर्षमा, अघिल्लो शनिबार दिउसोदेखि यता पटकपटक नेपालमा आइरहेको विनाशकारी भूकम्पले हजारौं मानिसलाई प्रभावित बनाएको छ। एक सेकेन्डमा करोडपतिलाई रोडपति बनाइदिएको छ। राष्ट्रपति होस् या सडक बालबालिका सबैलाई समान बनाइदिएको छ। ठूलावडा भनाउँदालाई समेत सडकमा सुत्दाको पीडाबारे महसुस गराउने मौका दिएको छ। यस पटकको भूकम्पमा खुल्ला आकाशलाई छाना र सडकलाई डसना बनाई सुतेपछि सम्बन्धित निकायको उच्च तहमा रहेकाहरुलाई सत्बुद्धि मिल्छ कि!

    पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका सदस्य तथा जिल्ला बाल क्लब सञ्जाल झापाका अध्यक्ष
    Share on Google Plus

    About Unknown

      Blogger Comment
      Facebook Comment

    0 comments:

    Post a Comment

    कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।