Preeti to Unicode

भुइँचालोको पाठ

गौरव पोखरेल  ।  जेष्ठ २, २०७३- विनाशकारी भूकम्प गएको वर्ष दिन बितिसक्यो । पीडित पुनर्निर्माणको पर्खाइमै छन् । टेन्टमा कष्टकर जीवन बिताउन बाध्य छन् । सहयोगको नाममा ठालुहरू मोटाइरहेका छन् । तर, वास्तविक पीडितहरू भने भोकै छन् । 

वैशाख १२ गते, दिउँसो ७.९ रेक्टर स्केलको भूकम्प गयो । विध्वंशकारी बन्यो । हजारौं घरबारविहीन भए । धेरै अंगभंग भए । अस्पतालमा बिरामीहरूको घुइँचो लाग्यो । क्षणभरमै देशै शोकमग्न हुन पुग्यो । 

त्यति नै बेला खानेकुराको अभाव भयो । पेट्रोलियम पदार्थ नपाइने समस्या पनि उस्तै । ठूलाठूला भवनहरू भग्नावशेषमा परिणत भए । साता बितिसक्दा पनि जीवितै उद्धार भइहेको सुनिए । नेपालीहरू वर्षैभरि त्रासमा रहन बाध्य भए । एउटा बालकदेखि वृद्धसम्मको उद्धारको समाचारले अन्तर्राष्ट्रियस्तरमै स्थान पाए । विश्वभरबाट सहयोगी मनहरू जुट्न थाले । आर्थिक एवं भौतिक सहयोग गरे । तत्काल उद्धारका लागि धेरै देशबाट टोली आयो ।  

राहतका सामग्रीहरू प्रत्येक भूकम्प पीडितहरूसम्म पुग्न सकेको छैन । ठूलो सहयोग घोषणा भए पनि अहिले ती आश्वसन कता गए अत्तोपत्तो छैन । प्रकोपको केही महिनासम्म एकजुट भएर भूकम्प पीडितहरूको सहयोगमा जुटेका राजनीतिक दलहरूले अहिले आफ्नो अडान बिर्सिंदै गएको आभास हुन्छ । 

यो प्रकोपमा बालबालिका प्रत्यक्ष प्रभावित भए । उनीहरू सबैभन्दा बढी पीडित थिए । अहिले पनि कुनै अन्य कारणले आफू बसेको टेबल हल्लियो भने बालबालिकाहरू झस्किन्छन् । हुरी आउँदासमेत तर्सिन्छन् । अहिले परकम्प आउने क्रम केही कम भएको अवस्थामा बालबालिकाहरू बल्ल तंग्रिन खोज्दै छन् । बल्ल पढाइमा ध्यान जाँदै छ ।

परकम्प आइरहँदा बालबालिकाहरूमा त्रासले रिंगटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखा परे । कतिपय महिला अस्थायी शिविरमै सुत्केरी भए । नवजात शिशु खुल्ला आकाशमुनि हुर्किए । भग्नावशेषबाट उद्धार गरिएका बालबालिकाहरू अहिले हाँस्न खोज्दै छन् । संयोग नै मान्नुपर्छ, त्यो कहालीलाग्दो दिन शनिबार पर्‍यो । विद्यार्थीहरू घरैमा थिए । उनीहरू विद्यालयमा भएको समयमा भूकम्प गएको भए स्थिति अझ डर लाग्दो हुन सक्थ्यो । त्रास अझ बढी हुन्थ्यो । राति आएको भए झनै समस्या हुने थियो । हताहतीको संख्या धेरै हुन्थ्यो । बालबालिकामा अझ बढी प्रभाव पथ्र्यो । 

असार मसान्तसम्ममा आठ हजार बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक भयो । जसमा २९ प्रतिशत बालबालिका परे । तथ्यांकअनुसार १ सय ४ जना बालबालिकाले अभिभावक गुमाउनुपर्‍यो । त्यस्तै, ३ सय ३ जनाले आमा र २ सय ४४ जनाले बुबा गुमाउन बाध्य भए । यसैगरी, नेपालका ३५ हजार ९ सय ८६ कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भए । करिब ९ लाख ९० हजार बालबालिका प्रभावित भएको कहालीलाग्दो तथ्यांक सार्वजनिक भयो ।  

आफ्ना अभिभावक गुमाउनुको पीडा एकातिर छ भने अर्कातिर बसेको घर ध्वस्त हुनु बालबालिकाहरूका लागि निक्कै कष्टकर बन्यो । खेल्ने र बस्ने स्थान पनि नष्ट भयो । मानिस अंगभंग भएको दर्दनाक दृश्य बालबालिकाले प्रत्यक्ष देखे ।

टेन्टको बसाइ । त्यसै पनि कष्टकर हुने भइहाल्यो । फोहोर, खुल्ला शौचालय, मौसम परिवर्तन आदिले झन् समस्या निम्त्याउँछ । बालबालिकाहरूमा विभिन्न किसिमका रोगहरूको संक्रमण पनि देखा पर्‍यो । संकटग्रस्त अवस्थामा थुप्रै बालिकाहरू यौनशोषणमा परेको समेत समाचार बाहिरिए । 

यस्तो अवस्थामा पनि हामीले हारेनौं । धैर्यताले जित्यो । राहत र उद्धारको काम भइरहे । बालबालिकाहरूसाग खुसीको कुरा मात्र गर्दा त्रास कम भएको पाइयो । सकारात्मक सोचको खाँचो थियो त्यस बेला । र, अहिले पुनर्निर्माणको काम भइरहँदा पनि जरुरी छ । विपत्तिसँग नआत्तिई जुध्न सक्नुपर्छ भन्ने पाठ ‘वैशाख १२’ ले सिकायो ।
                                                                                                                                Source: Ekantipur
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।