Preeti to Unicode

स्कुलमा बुलिङ

गौरव पोखरेल 
झापाको एक विद्यालयमा कक्षा ८ मा पढ्दै गरेका सुशान्त लिम्बूलाई ठूला विद्यार्थीहरूले गिज्याए। अर्को दिन फेरि कक्षा १० मा पढ्दै गरेका एकजना दाजुले गृहकार्य सार्न लगाए। 

आफूभन्दा ठूलो विद्यार्थीले थर्काएपछि गृहकार्य सारिदिन बाध्य भए। कक्षा ७ का दिवाकर खरेलको आमाले ‘टिफिन बक्स’ मा रोटी बनाएर खाजा पठाएइदिनुभएको थियो । 

रोटी छ भन्ने चाल पाएर ठूला विद्यार्थीहरू उनी भए ठाउँमा आए। खोसेर खाइदिए। उनी हेरेको हेरै भए। 

ठूला विद्यार्थीको अगाडि बोल्न सक्दैनथे। न त गुहरूलाई आफ्नो समस्या सुनाउने आँटै थियो। 

सुमन अधिकारी कक्षा ९ मा पढ्छन्। उनको कक्षामा विज्ञान शिक्षक अन्तिम घण्टीमा पढाउन आउँछन्। 

शिक्षकले दैनिक प्रश्नहरू सोधेर उनलाई पिट्छन्। जसको कारण ऊ प्राय: ‘टिफिन’ पछि नै भागेर घर जान्छ। 

त्यसैगरी, एउटा विद्यालयको कक्षा ७ मा पढ्ने विद्यार्थीहरू आफूभन्दा ठूलो कक्षाकोहरूलाई देख्नेबित्तिकै शिर निहुर्‍याएर हिँड्छन्।

 किनकि उनीहरूलाई धेरैपटक आफूभन्दा ठूलाले पिटेका छन्। गुहरूलाई भने त झनै बाटो छेकेर पिट्ने धम्की दिएका छन्। 

प्रस्तुत घटनाहरू ‘स्कुल बुलिङ’ का उदाहरणहरू हुन्। 

वास्तवमा, विद्यालयमा आफूभन्दा ठूलाहरूबाट हामीलाई धम्क्याउने, गिज्याउने, पिट्ने, तर्साउने, दु:ख दिने, चोर्ने, चिमोट्नेजस्ता काम हुन्छन् भने ती सबै ‘स्कुल बुलिङ’ अन्तर्गत पर्दछन्। 

अहिले नेपालमा बालबालिकाहरूको क्षेत्रमा रहेको समस्याहरूमध्ये यो पनि एउटा गम्भीर समस्या हो। स्कुल बुलिङका कारण कतिपय विद्यार्थीहरूले विद्यालय छोड्ने कुरा त छँदै छ, उनीहरू आत्महत्या गर्नसमेत उद्धत हुने गरेको पाइन्छ। 

विद्यार्थीहरू डरले बुलिङको विषयमा गु वा अभिभावकहरूलाई भन्दैनन्। जसका कारण यो समस्या झन् जटिल बनेको हो। 

कहिलेकाहीं अभिभावकहरू तथा शिक्षकहरूलाई राम्रोसँग बुझाउन नसक्दा पीडित विद्यार्थी स्वयंलाई दोषी देखाइनु, आफ्नो समस्याहरूको विषयमा खुलेर भन्ने वातावरण नहुनुजस्ता कारणले आज विद्यालयमा बुलिङको समस्या दिन प्रतिदिन बढिरहेको छ।

 बुलिङका कारण विद्यार्थीहरूको शिक्षक सिकाइ क्रियाकलापमा नराम्रो असर पर्छ। यसले उनीहरूमा मानसिक तनाव बढाउँछ जसले गरेर विद्यार्थीहरूको बालमानसपटल खल्बलिन पुग्छ। 

स्कुल बुलिङ कक्षाकोठामा मात्र हुने होइन। बालबालिककाहरू अतिरिक्त क्रियाकलाप र खेलकुदका कक्षाहरूमा सामेल भएकै बेला शौचालय, स्कुल बस, क्यान्टिन लगायतमा भएको बेलामा पनि बुलिङ भइरहेको हुन सक्छ। स्कुल बुलिङ विश्वव्यापी समस्या हो। 

यसले विद्यार्थीहरूलाई शारीरिक वा मानसिक रूपमा आघात पुर्‍याउँछ। बुलिङले भयरहित वातावरणमा पढ्न पाउने बालबालिकाको अधिकारलाई समेत कुण्ठित गरिदिएको छ।

 बुलिङले विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलापमा त हानि पुर्‍याएकै छ। यसका साथै राज्यको समेत दक्ष जनशक्ति उत्पादन गर्ने क्षमतामा पनि खलल पुगेको छ।

अभिभावकहरूले आफ्नो छोराछोरीहरूसँग यसको विषयमा छलफल गर्ने गरेको खासै पाइँदैन। विद्यालयमा पनि यस विषयमा चर्चा भएको देखिँदैन।

 जसका कारण पनि बुलिङको समस्या बढेको हो। 

(लेखक पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका सदस्य हुन्।) 
                                                                                                                                 Source: Ekantipur

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।