– गौरव पोखरेल (आभाष)
भनिन्छ जीवन आफैंमा एउटा अविराम यात्रा हो जसको क्षितिज नितान्त फराकिलो हुन्छ । मानिस हरबखत, हरक्षण अनि हरपल प्रगति हाँसिल गर्न उद्यत रहन्छ । नूतन–नविन कुरा सिक्न सधा तम्सिरहने, महानतम् लक्ष्यको आशा राख्ने, कुनै पनि कामलाई फरक किसिमले हल गर्न अविरल प्रयासरत हुने जस्ता गुणहरुले मानव आज सर्वश्रेष्ठ प्राणीको रुपमा गनिने गरेको छ । विभिन्न दार्शनिकहरुले मानव जातिलाई सर्वश्रेष्ठ प्राणीको संज्ञा दिएका छन् । तर यसो भन्दै गर्दा एउटा जिज्ञासा भने सधा उठ्ने गर्छ । के मानिस आफैं आफूलाई सर्वश्रेष्ठको विल्ला भिराएर मपाईं भएको त होइन? मानव जाति जस्तै बुद्धिमानी प्राणी जगत्मा छैनन् त ? खैर मानव जीवनसँग सम्बन्धित यी कुराहरु बहसका विषय बन्न सक्छन् । तर यहाँ जोड्न खोजिएको कुरा सधैँ नयाँ कुरा सिक्न तम्सिरहने मानव जातिको औपचारिक ज्ञान हाँसिल गर्ने क्रमको पहिलो खुड्किला यानिकी विद्यालय जीवन (स्कूल लाइफ) मा यस पंक्तिकारले भोगेका केही अनुभवहरु हुन् ।
मानव जीवन भित्रको विद्यार्थी जीवन अनि त्यस भित्रको पनि विद्यायल जीवन । विद्यालय जीवन भन्ने वित्तिकै प्रथतः विद्यालयमा व्यतित गरिने पल अनुलग्न भएर आउन पुग्छ । वर्तमान प्ररिप्रेक्ष्यमा नेपाली समाजमा अभ्यासमा रहेको शिक्षा प्रणालीले कक्षा नर्सरी देखि १० सम्मलाई विद्यालय शिक्षा र त्यसदेखि माथिकोलाई उच्च शिक्षा मानेको छ । यस पंक्तिकारले यसै वर्ष मात्र प्रवेशिका परीक्षा दिएको हो । यस अर्थमा यस पंक्तिकारले विद्यार्थी जीवनको पहिलो खुड्किलो विद्यालय जीवनलाई पार लगाउन लागेको अवस्था छ ।
सानो कक्षाहरु (नर्सरी, १, २, ३.....) मा अध्ययन गर्दा कक्षा ९, १० मा अध्ययन गर्ने दाजु दिदीहरुलाई देख्दा लाग्थ्यो, “कहिले उहाँहरु जत्रो हुने र एसएलसी पास गरेर ढुक्कले बस्ने !” तर कक्षा बढ्दै गयो तब सानो कक्षामा पढ्दाको मज्जा स्मरणमा ताजा भएर आउन पुग्ने । अनि फेरि लाग्थ्यो, “कक्षा १, २, ३.... मा पढ्दा कत्ति रमाइलो हुन्थ्यो । अब ती दिन कहिले आउलान् !” सानो कक्षामा पढ्दा विद्यालय हातामा प्रवेश गरेदेखि एउटै कुरा कुरेर बसिन्थ्यो; त्यो हो– विद्यालयको छुट्टी हुने घण्टी ! किनकी संस्थागत विद्यालयमा शिक्षक वर्गको डर, त्रास र भयमा बस्नु पर्ने हुन्थ्यो । अलिकति काम विग्रियो कि शरीरमा निल डाम बस्ला भन्ने डर । एउटा हलिले खेत जोग्ने वेलामा राँगा, गोरु जस्ता घरपालुवा जनावरलाई पिट्न बोक्ने लामो भाटालाई गुरुवर्गले विद्यार्थीको कक्षा कोठामा बोकेर आउँदा ती अबोध बाल मनहरुलाई कसरी पो डर नलागोस् । त्यो पल सम्झदाँ अझै पनि जिरिङ्ग हुन्छ ।
हामी कक्षा ६ मा पढ्दा एक जना शिक्षक निकै मोटो भाटा लिएर मात्र कक्षा कोठामा प्रवेश गनुहुन्थ्यो । अनि शिक्षा आर्जन गर्न आएका विद्यार्थीलाई सोध्दै निल डाम बसाउने । एक पटक त एक जना विद्यार्थीलाई साह्रै भएर अभिभावक समेत विद्यालयमा ‘कम्प्लेन’ गर्न आएका थिए । यस्ता शिक्षक जो अहिले पनि शिक्षक पेशामा नै आबद्ध हुनु हुन्छ । अहिले उहाँको बानी फेरियो कि फेरिएन यो त मलाई थाहा छैन । तर उहाँले बालबालिकाहरुलाई दिइने शिक्षा दण्डरहितको कि दण्डसहितको भन्ने विषयमा मैले यसै दैनिकमा लेखेको लेख पढ्नु भएछ र बालबालिकालाई दण्डरहितको शिक्षा चाहिन्छ भन्दै हुनु हुँदो रहेछ । अन्य शिक्षकहरुबाट यो कुरो सुने । यसो भनि रहदाँ मलाई उहाँदेखि कुरीकुरी लाग्यो ।
करिब ८ वर्षको संस्थागत विद्यालयको अनुभव र ४ वर्ष जतिको सामुदायिक विद्यालयको अनुभवमा मेरो ४ वर्षे सामुदायिक विद्यालयको अनुभव फलदायी एवम् महत्वपूर्ण भएको आभाष गरेको छु । संस्थागत विद्यालयमा पढाइका आधारमा कुनै पनि विद्यार्थीलाई मूल्याङ्कन गर्ने परिपाटी रहेको छ । पढाइमा उत्कृष्ट विद्यार्थी, मध्ययम वर्गको विद्यार्थी र जान्दै नजान्ने विद्यार्थीलाई शिक्षक वर्गले हेर्ने दृष्टिकोणमा आकाश पतालको भिन्नता रहेको पाएँ । तर यहाँ सामुदायिक विद्यालयमा भने ठीक विपरित । पढाइमा जान्ने होस् या नजान्ने; सबैलाई समान व्यवहार । विद्यार्थी स्वयम् कुनै पनि कुरा गर्न जुर्मुराउनु पर्ने । जसले गर्दा अघि बढ्न चाहने विद्यार्थीहरुका लागि आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्न सामुदायिक विद्यालय अब्बल औजार सावित हुने कुरामा दुई मतै छैन ।
संस्थागत विद्यालयमा आयोजना हुने विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुमा पनि पढाइमा जान्ने (विशेषतः लब्धाङ्क पत्रका आधारमा उत्कृष्ट ५ सम्म पर्ने) विद्यार्थीहरुलाई मात्र सहभागी गराइने गरिएको पाएँ । जसले गर्दा संस्थागत विद्यालयका जान्ने विद्यार्थीहरुले मात्र कुनै अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाए । तर नजान्ने विद्यार्थी सधा पछि परिरहने भए । यस पक्तिंकारले पनि झापाको एउटा संस्थागत विद्यालयमा ५ वर्ष अध्ययन गरेको हो । दैनिक रुपमा विहान विद्यालय परिषरमा प्रार्थना गरिन्थ्यो । अहिले पनि सबै विद्यालयहरुमा गर्ने गरिन्छ । प्रार्थना समयमा विभिन्न कक्षाका साथीहरुलाई प्रवचन दिन समेत लगाइन्थ्यो । तर, ५ वर्षसम्म त्यस विद्यालयमा अध्ययन गरुन् जेलसम्म मेरो एक पटक पनि प्रवचन दिने पालो आएन । बरु मेरो कक्षाका केही साथीहरुको भने पालो दोहोरिरहे । मलाई पनि प्रार्थना समयमा प्रवचन दिन मन लाग्थ्यो । तर हेर्दै डर लाग्ने लामो भाटा बोकेर बसेका गुरुसँग गएर बिहान प्रार्थना समयमा म पनि प्रवचन दिन्छु नि भन्न डर लाग्ने । गुरुहरुले पनि कहिल्यै कसैलाई तिमी प्रवचन दिन्छौ भनेर सोधेको पाइन । उहाँहरु आफंै कुनै कक्षाको प्रथम विद्यार्थी जसलाई संस्थागत विद्यालयले सबै भन्दा जान्ने, इमान्दार र उत्कृष्ट विद्यार्थी मान्छ उसलाई मात्रै पालो दिनु हुन्थ्यो । जसले गर्दा रुचि नै नभएका पनि प्रवचन दिन बाध्य हुन्थ्ये भने रुचि भएकाहरुको प्रतिभा निमोठिन्थ्यो । यसरी आज कतिपय बाल मनहरुको सम्भावना र प्रवल इच्छा शक्तिलाई संस्थागत विद्यालयहरुले निमोठिदिएको पाएँ ।
चाहे जे होस् । कुनै पनि कुराको राम्रो र नराम्रो पक्ष दुवै हुन्छन् । सरकारी विद्यालयको पनि अध्याराँ पाटाहरु कम छैनन् । विगतमा सुनिने गरिएका शिक्षक कक्षाकोठामा अनुपस्थित हुने, राम्रोसँग नपढाउने जस्ता कुनै पनि कुराको अनुभव मैले सामुदायिक विद्यालयमा गर्न पाइन । शिक्षक वर्गहरु सबै दक्ष, तालिम प्राप्त पाएँ । तर कोही शिक्षकहरुले लामो समय सम्म अध्यापन गराइरहदाँ उहाँहरुमा वितृष्णा पैदा भएको पो हो कि जस्तो आभाष गरेँ । विद्यार्थीको नियमित गृहकार्य चेक गर्ने पक्षमा सामुदायिक विद्यालय पछाडि नै पर्छ । तर यसो भनि रहदाँ संस्थागत विद्यालय पनि नियमित गृहकार्य चेक गर्नेमा पर्दैन । तर जे नै भए पनि संस्थागत विद्यालयमा गुरु वर्गको डरले विद्यार्थीले सारेर भए पनि चोरेर पनि गृहकार्य गरेकै हुन्छन् । तर संस्थागत विद्यालय अनि सामुदायिक विद्यालय दुवैले सुधार गर्नु पर्ने एउटा प्रमुख पाटो मैले देखेको छु; जुन विषयलाई सुदृढ गर्न सामुदायिक तथा संस्थागत विद्यालय दुवैले पहल गर्नु आवश्यक छ । कक्षाकोठामा धेरै विद्यार्थीहरु हुन्छन् । उनीहरुको गृहकार्य परीक्षण गर्ने नाममा गृहकार्य पुस्तिकामा रातो मसिको ठीक चिन्ह उत्तर नै नपढी दिइन्छ । पछि त्यो विद्यार्थीले परीक्षामा सोही उत्तर लेख्छ अनि नतिजा हात लाग्यो शुन्य । पढेको पनि अनर्थ । मसँगै पढ्ने एक जना साथीको यस्तै भएको थियो । त्यसैले म संस्थागत अनि सामुदायिक दुवै विद्यालयका गुरु वर्गलाई विन्ती गर्छु गृहकार्य परीक्षण गर्ने नाममा रातो मसीले ठीक चिन्ह मात्र नलगाइदिनुस् । बरु एक दिन एउटा कक्षाको ५ वटा गृहकार्य पुस्तिका मात्र परीक्षण गर्नुहोस् तर उत्तर पढेर गरिदिनुहोस् । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड नगरिदिनुहोस् ।
बाल्यावस्थाबाट घिस्रिँदै घिस्रिँदै किशोरावस्थासम्म आइपुग्दा विद्यालय जीवनमा कहिले साथीहरुसँग स–सानो कुरामा पनि उन्मत्त भइ हाँसखेल गरियो । वादविवाद गरियो । वास्तवमा बाल मष्तिस्क निकै चञ्चल नै हुदोरहेछ । यस कुराबाट कोही पनि अछुतो रहन सक्दैन । साथीहरुसँग रमाइलो गरेको, हाँसखेल गरेको त विद्यालय जीवनको इतिश्री भए पछि पो स्मरण हुदोँ रहेछ । अनि अतितका ती अमिट पलहरु सम्झेर मुस्कुराउँदै मन मस्तिस्कको अन्तस्करणबाट आवाज गुञ्जिदो रहेछ, “अब म नर्सरीमा फेरि कहिले पढ्न पाउँला?”
From: Purwanchal National Daily
No one has commented yet. Be the first!