Preeti to Unicode

राजा राजेन्द्रको हास्य यात्रा

गौरव पोखरेल, 

‘तेस्रो हुनेले मलाई भेट्नै सक्दैन । पहिलोलाई मैले भेट्नु नै छैन ।’, विद्यार्थी जीवनमा उनी भन्थे, ‘पहिलोलाई भेटेको दिन उसले आत्महत्या गर्छ ।’ विद्यालयमा न त तेस्रो हुने साथीले उनलाई भेट्न सके । न त उनले पहिलो साथीलाई नै । विद्यार्थी जीवनका अधिकांस परीक्षामा दोस्रो भएको अनुभव उनीसँग छ ।

आफ्नो कक्षाको पाठ्यपुस्तक खासै नपल्टाउने उनको अतिरिक्त पुस्तक तथा क्रियाकलापमा भने प्रगाढ रुचि थियो । 

पाठ्यपुस्तकको खासै अध्ययन नगरे पनि उनी गुरुले पढाएको वेला ध्यान दिन्थे । त्यसैले पनि कक्षामा अब्बल विद्यार्थीकै रुपमा परिचित थिए ।

‘उनी जस्तो अब्बल विद्यार्थी भविष्यमा डाक्टर, इञ्जिनियर वा पाइलट भएर निस्किन्छ ।’, यो थियो उनको गुरुवर्ग र घरपरिवारको सोच । तर उनी अहिले निस्किए अरुलाई पेट मिचीमिची हसाउने हास्यकलाकार । कसैले पनि उनी कलाकारिता विधामा जालान् भनेर सोचेका थिएनन् । हाल उनी नेपाली हास्य कलाकारिता क्षेत्रमा उदयमान युवाका रुपमा परिचित छन् ।


 कुनै पनि कुरालाई पृथक ढङ्गले विश्लेषण गर्दै हास्यास्पद शैलीमा प्रस्तुत गर्ने कला भएका उनी नेपालका थोरै व्यस्त कलाकारहरु मध्येका एक मानिन्छन् । उनी हुन् झापा कनकाई नगरपालिकाका राजाराजन्द्र पोखरेल ।

मिडिया हबको ब्यानरमा नेपाल टेलिभिजनबाट प्रशासण हुने हास्य कार्यक्रम ‘मेरी बास्सै’ मा उनी नेपालका प्रधानमन्त्री शुशिल कोइरालाको रुपमा प्रस्तुत भएका छन् । यसका साथै उनी ‘फर सी नेटवर्क’ द्वारा उत्पादन भइ हिमालय टेलिभिजनमा प्रशारण भइरहेको हास्य कार्यक्रम ‘जोकशास्त्र’ को समेत प्रस्तोता हुन् । यसका साथै उनी नेपालकै एक मात्र मनोरञ्जनात्मक रेडियो ‘रेडियो अडियो’ मा समेत हास्य विधासँग सम्बन्धित कार्यक्रम प्रस्तुत गर्छन् । 

पछिल्लो समय रेडियो अडियोमा उनका हास्य कार्यक्रमहरु कमेडी क्लब, सुपर फास्ट, चटपटे गरम र भूकम्प कक्षा प्रशारण भइरहेका छन् । यसका साथै उनी गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनले २ दर्जन बढि गीतमा स्वर दिइसकेका छन् ।

वि.स. २०४३ सालमा पिता डिल्लीराम र माता भद्रमायाको सुपुत्रका रुपमा जन्मिएका उनले भृकुटी उच्च मावि दुर्गापुरबाट प्रवेशिका परीक्षा दिएका हुन् । विद्यार्थी छँदा उनी विद्यालयमा आयोजना हुने प्रत्येक अतिरिक्त क्रियाकलापमा भाग लिन्थे । 

विशेषतः उनी वक्तृत्वकला प्रतियोगितामा अब्बल थिए । विद्यालयमा उनलाई कसैले पनि वक्तृत्वकलामा जित्न सकेन ।  वि.सं. २०५८ सालमा भविष्य खोज्दै राजधानी छिरेका उनी काठमाण्डौंमा पनि स्टेज प्रोग्रामहरु ‘होस्ट’ गरे । 

पछि ०६३ सालमा उनको एक कार्यक्रमकै सिलसिलमा अर्का चर्चित हास्य व्यंग्यकार मनोज गजुरेलसँग भेट भयो । गजुरेल पनि झापाली भएकाले उनले राजेन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्ततः राजा राजेन्द्र गजुरेलसँग मिलेर गाइजात्राको समयमा प्रस्तुति दिन शुरु गरे ।

नेपाल टेलिभिजनबाट प्रशारित टेलिश्रृंखला ‘जय होस्’ बाट राजा राजेन्द्रले टेलिसिरियलमा डब्यू गरेका हुन् । बेइमान भनेर चिनिने रवि डंगोलले उनलाई टेलिसिरियलमा अवसर दिएका थिए । 

पछिल्लो समय सार्वजनिक भएका उनका गीतहरु मध्ये चन्द्रमाको झैँ शितल देउले निक्कै चर्चा पायो । उनी आफ्नो प्रस्तुति दिने क्रममा नेपालका विभिन्न ५७ वटा जिल्ला घुमिसकेका छन् भन् उनी प्रस्तुतिकै लागि हङकङ समेत पुगेका छन् ।

नेपाली कला र मनोरञ्जन क्षेत्रमा थोरैले मात्र राम्रो कमाई गरिरहेको अवस्थामा उनी आफ्नो कमाइबाट सन्तुष्ट रहेको बताउँछन् । 

‘कलाकारहरुको भविष्य उज्यालो छ भन्छन् ।’, हास्दै उनले भने, ‘तर वर्तमान चाहिँ पूरै अन्धकारमय ।’

पछिल्लो समय नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुको पुस्र्थापनाका लागि नेपाली कलाकारहरुको तर्फबाट गीत, संगीत र हास्यव्यङ्यको विधाबाट सिस्नु पानी नेपालको अग्रसरतामा सहयोग संकलन कार्य गर्ने तयारी भइरहेको उनले जनाएका छन् । 

‘इमान्दारिताका साथ कलाकारितामा रुज्न सके सफल भइन्छ ।’, कलाकारिता क्षेत्रमा भविष्य खोज्दै गरेका नयाँ कलाकारहरुलाई सुझाव दिँदै उनले भने, ‘कलाकारितालाई फेसन बनाउनु हुँदैन । फेसन आउछ जान्छ तर कला सधैँ रहिरहन्छ ।’
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।