जब एउटा बच्चाको जन्म हुन्छ, तब त्यस
बच्चाको रुवाइ सुनेर उसको आमाले दुध खुवाउने गर्छिन् । रुवाइकै भरमा बुबा
तथा परिवारको अन्य सदस्यहरुले त्यस बच्चालाई बोक्ने, खेलाउने, सरसफाइ
गरिदिने तथा ख्याल राख्ने गर्छन् ।
वास्तवमै चिचिलो बाल मन आफ्नो भावनालाई
रुवाइ मार्फत मात्र उजागर गर्न सक्षम हुन्छ । त्यो बाल मनको बोली प्रष्फुटन
नभएसम्म प्रत्येक अभिभावक, हजुरबुबा, हजुरआमा, काका, काकी सबैले हाँसोको
माध्यमबाटै भलाकुसारी गर्छन् । त्यस्तै, जब त्यस बच्चाले ९ महिना पार गर्छ
या वर्ष दिनको हुन्छ तब ऊ तोतेबोलीमा आफ्नो भावना, चाहना र इच्छाहरुलाई
व्यक्त गर्न शुरु गर्छ । त्यो तोतेबोलीलाई सबैले निक्कै मज्जा मानी मानी
सुन्छन् ।
तोतेबोलीको त्यो बाल मन सबैको प्यारो
हुन्छ । परिचित व्यक्ति हुन् या अपरिचित नै किन नहुन्, सबै जना त्यस
बच्चासँग समीपको व्यवहार गर्छन् । यतिसम्म कि चिन्दै नचिनेको एउटा बटुवाले
पनि त्यस बालकलाई जिस्क्याउछ ।
समय बित्दै जान्छ । कलिला नानीबाबुहरुको
पापा, मामु, ताथी, बिल्ली ..... लगायतका तोतेबोलीका शब्दहरु सबैलाई सरसमय
लाग्छन् । सुमधुर लाग्छन् ।
“बाबु त्यसलाई पाइ्या गर !” त्यस बच्चासँग
सधैँ रहने व्यक्तिले भन्छ, “त्योसँग नजानु है !” त्यो अबोध बालकले पनि
उसँग प्रायः रहने व्यक्तिको इसारा स्वीकार्छ । सबैलाई साना बालबालिकाहरुको
यस्तो व्यवहार मन पर्छ । आफूलाई मन पर्ने व्यक्तिलाई कसैले छोयो भने अथवा
पिट्छु भन्यो भने त्यो अबोध बालक रुन पुग्छ ।
उसलाई आफ्नो आमा, बुबा अनि आफूसँग धेरै
समय रहने व्यक्तिकै सबैभन्दा बढि माया लाग्छ । अनि विश्वास पनि । घरपालुवा
जनवारहरुसँग खेल्न ती बालमनहरु मन पराउँछन् । उनीहरुको आवाज सुन्न बाल
मष्तिस्क आतुर हुन्छ । समष्टिगत रुपमा त्यस बालक वा बालिका सबैको हृदयको
प्यारो हुन्छ/हुन्छे ।
तर, जब त्यो बच्चा ६/७ वर्ष पार गर्छ ।
भाषाको माध्यमबाट आफ्नो चाहना, आशा, अपेक्षा सबै सामु व्यक्त गर्न सक्ने
हुन्छ तब त्यस बच्चालाई आफ्नो बोलीको प्रभाव, मान्यता कम हुँदै गएको आभास
हुन्छ । यस उमेरका बालबालिकाहरुलाई आफ्नो साथीहरुसँग रमाइलो गर्न, हाँसखेल
गर्न मन पर्छ । नयाँ साथीहरु बनाउने इच्छा हुन्छ ।
आफूलाई राम्रो लाग्ने तथा नलाग्ने
कुराहरुलाई सबै सामु व्यक्त गर्ने चाहना हुन्छ । घरका अभिभावकहरुले कुरा
गरिरहेको सुन्न मन लाग्छ । ठूलाहरुको वार्तालाप सुनेर नूतन ज्ञान हाँसिल
गर्न मन हुन्छ । तर, विडम्बना यो उमेरमा त्यस बालकलाई स्वतन्त्रता दिइँदैन ।
यस उमेर समुहका बालबालिकाहरु स्वतन्त्र त हुन्छन् तर पनि स्तन्त्रताको
जञ्जिर भित्र आफूहरुको चाहनालाई उकुसमुकुस पार्न बाध्य हुन्छन् ।
उनीहरुको यस्तो आवाज कसैले सुनिदिँदैन ।
बाल मनको चाहनालाई कसैले बुझ्ने प्रयास गर्दैनन् । विडम्बना नै मान्नु
पर्छ, यस उमेर समूहका बालक/बालिकाहरुले आफ्नो चाहना अनुसार रमाइलो गर्न
खोजे, ठूलावडाले गफ गरेको ठाउँमा गएर केहि सिक्न खोजे त्यस बालकलाई चर्को
स्वरमा थर्काइन्छ, “सानो मान्छे भएर ठूलो मान्छे गफ गरिरहेको ठाउँमा आउने
हो ! तिमीले ठूलाले भनेको मान्नु पर्दैन ।”
त्यस बालक सानो छँदासम्म सबैको प्रिय थियो
। तोतेबोली सबैलाई मन पथ्र्यो । सबै उसलाई काँधमा हाल्थें । खेलाउथे ।
मिठाइहरु किनिदिन्थें । बच्चालाई बोक्न पनि पालो पर्खनु पर्ने हुन्थ्यो ।
बच्चाको नजिकको व्यक्तिले कसकसले बोक्न पाउने, खेलाउन पाउने भनेर समेत
सिन्डिकेट लगाइदिन्थ्यो । तर, अहिले हेर्नुस् त त्यस बच्चाको कसैले वास्ता
गर्दैन ।
ठूलोले भनेको मान्नु पर्छ भनेर त्यस
बच्चालाई खोक्रो स्वतन्त्रता भिराइन्छ । आखिर किन ? के कारणले यस्तो हुन्छ त
? के यही हो बाल सहभागिता ? यस उमेर समूहको तमाम बालबालिकाहरुमा यस्तो
प्रश्नहरु उब्जिन पुग्छ । नेपालको अन्तरिम संविधान २०६३ ले १६ वर्ष मुनिका
व्यक्तिहरुलाई बालबालिका भनेको छ भने संयुक्त राष्ट्रसंघीय बालअधिकार
सम्बन्धी महासन्धि १९८९ को धारा १ मा १८ वर्षभन्दा कम उमेर समुहका
मानिसहरुलाई बालबालिका मानिएको छ ।
यसरी हेर्दा १६ या १८ वर्ष भन्दा कम उमेर
समुहका मानसिक, शारीरिक तथा संवेगात्मक रुपले कमजोर र अपरिपक्व मानिसहरुलाई
बालबालिका मान्नु पर्छ । नेपाली शब्द कोषले सहभागितालाई अरुसँगै मिलेर काम
गर्न पाउने अधिकार, अरुको सरह कुनै पनि प्रक्रियामा भाग लिन पाउने अवसर
भनेर व्याख्या गरेको छ ।
वास्तवमै बालबालिकाहरुले निर्णय
प्रक्रिया, योजनाको कार्यान्वयन, कामको जिम्मेवारी र स्वामित्व,
मूल्याङ्कनको प्रक्रिया, स्थानीय संरचनाको अभ्यासहरुमा सरिक हुन पाउने
अधिकार नै बाल सहभागिताको अधिकार हो ।
संयुक्त राष्ट्र संघको १९८९ को बालअधिकार
सम्बन्धी महासन्धिले आफ्नो उमेरको विकास क्रमसँगै विकास स्तर र
परिपक्वतालाई मनन् गर्दै स्वतन्त्रतापूर्वक आफ्नो विचार राख्न पाउने, कुनै
पनि विषयको सम्बन्धमा जानकारी लिन पाउने र संगठित हुन पाउने अधिकारलाई
सम्बोधन गरेको छ ।
यसका साथै बालबालिकाहरुको आफ्नो जीवनलाई
असर पार्ने किसिमका निर्णयहरु लिने समयमा स्वयम् बालक वा बालिकाले
व्यक्तिगत या त सामुहिक रुपमा भाग लिन पाउने अधिकार सुरक्षित छ । संयुक्त
राष्ट्र संघले पारित गरेको महासन्धिको धारा १२ मा आफ्नो व्यक्तिगत जीवनलाई
असर पार्ने क्रियाकलाप/विषयको बारेमा आफ्नो विचार राख्न पाउने तथा
बालबालिकाहरुको आवाजलाई सम्बन्धित निकायले मान्यता दिनु पर्ने उल्लेख छ ।
यस्तै, धारा १३ ले बालबालिकाहरुले जानकारी
प्राप्त गर्ने र विचार व्यक्त गर्न पाउने अधिकारलाई सम्बोधन गरेको छ भने
धारा १४ ले बालबालिकाहरुको विचार, विवेक र धार्मिक स्वतन्त्रताको अधिकारलाई
उठान गरेको छ । यस्तै धारा १५ मा अरुसँग भेटघाट गर्न पाउने अधिकार,
विभिन्न किसिमका संघसंस्थामा आबद्ध हुन पाउने अधिकार र संगठन खोल्न पाउने
अधिकार सुरक्षित छ भने धारा ३१ मा बालबालिकाहरुको फूर्सद, मनोरञ्जन र
सांस्कृतिक क्रियाकलापहरुको बारेमा अधिकार प्रदान गरिएको छ ।
नेपालको अन्तरिम संविधान २०६३ ले पनि
देशको नागरिकको हैसियतले पाउनु पर्ने सम्पूर्ण स्वतन्त्रताको अधिकारहरु
बालबालिकालाई हुने जनाएको छ भने नेपालमा संवैधानिक इतिहासमा नै प्रथम पटक
बालबालिकाहरुको हक, अधिकारलाई छुट्टै धारामा मौलिक अधिकार भित्र व्याख्या
गरिएको छ ।
बालसहभागिताको विषयमा बहस गरिरहँदा
बालसहभागिता किन आवश्यक छ त भन्ने कुरा पनि उठ्न सक्छ । वास्तवमा
बालसहभागिताको अधिकारले उनीहरुलाई कुनै पनि कुरा सिक्न, बुझ्न र मानसिक
विकासका लागि अवसर सिर्जना गर्दछ ।
बालबालिकाहरु सुगम क्षेत्रका हुन् या
दुर्गम, धनी हुन् या गरिब, मधेसका हुन् या पहाडका या त तराईका, विकसित
देशका हुन् या अल्पविकसित या विकाशोन्मुख देशका उनीहरुको उमेरको बढ्दो
क्रमसँग बालबालिकाहरुको शारीरिक विकास हुँदै जान्छ । तर, मानसिक विकासका
लागि भने सहभागिता नै नितान्त आवश्यक हुन्छ ।
आफू भित्र निहित सम्भावनाहरुलाई प्रष्फुटन
गर्न सहभागिता अब्बल औजार हो । बालबालिकाहरु विभिन्न ठाउँमा विभिन्न
क्रियाकलापमा संलग्न हुँदा या भाग लिँदा मात्र उनीहरुको मानसिक विकास हुन्छ
। तब मात्र एउटा बालक वा बालिकाको आफू भित्र रहेको क्षमता/सम्भावना
प्रष्फुटन हुन्छ ।
सहभागिताले नै जीवन, सिकाइ र सामाजिक
विकासलाई निश्चित विन्दुमा पु¥याउने गर्दछ । बालबालिकाहरुलाई कुनै पनि
कुरामा सहभागी गराइयो भने उनीहरु आफू सहभागी भएको काम प्रति उत्तरदायित्व
बोध गर्छन् । अन्ततः त्यस काम प्रति बालबालिकाले अपनत्व र स्वामित्व बोध
गर्दै आफ्नो काम प्रति जिम्मेवार हुन्छन् । यस अर्थमा हेर्दा बाल सहभागिता
बालबालिकाहरुमा जिम्मेवारी बोध गराउने समेत महत्वपूर्ण हतियार हो ।
बालसहभागिताले उनीहरुको प्रतिभालाई उजागर
गराउनुका साथै व्यक्तित्व विकासमा समेत टेवा पु¥याउछ । सहभागिताले
बालबालिकाहरुलाई आफ्नो अधिकार र कर्तव्यको विषयमा सचेत र सजग गराउँछ ।
सहभागिता पछि बालबालिकाहरुमा आफूसँग भएको स्रोत र साधनको सही पहिचान गरी
सदुपयोग गर्ने सीपको समेत विकास हुन जान्छ ।
उनीहरुमा धैर्यताको समेत वृद्धि हुँदै
जान्छ । बालबालिकाहरुले सहभागिताको अधिकारलाई पूर्ण रुपमा सदुपयोग गर्न
पाउँदा उनीहरु समाजको तथा स्वयम् बालबालिकाहरुको जमातको आवश्यकताको पहिचान
गर्न सबल हुन्छन् । अनि उनीहरु योजना बनाउने, कार्यान्वयन गर्ने, अनुगमन
गर्ने तथा मूल्याङ्कन गर्ने कार्यमा सरिक हुँदै आफ्ना समस्याहरुको आफैं
समाधान गर्न सक्छन् । सहभागिताले बालबालिकाहरुलाई समाजमा छलफल गर्ने
वातावरण सिर्जना गर्छ, जसले बालबालिकाहरुको सामाजिक सम्बन्धको विस्तार
गर्दछ । अन्ततः बालबालिकाहरुको आत्मविश्वासमा वृद्धि हुन्छ ।
फलतः समाजका बालबालिकाहरुको विभिन्न
किसिमका क्षमता, उनीहरुको दृष्टिकोण उजागर हुन जान्छ र बालबालिका तथा
समाजका लब्धप्रतिष्ठिक व्यक्ति या भनौं युवा वर्ग बीचको अन्तर पुस्ता
दूरिलाई कम गराउँछ । मानव जीवनको सबैभन्दा जिज्ञासु र चञ्चल समय भनेकै
बाल्यावस्था हो । मानव जातिको आधारभूत ज्ञान हाँसिल गर्ने समयको रुपमा
बाल्यावस्थालाई लिने गरिन्छ । यस समयमा सबैले अनुभव गरेर ज्ञान हाँसिल गर्न
चाहन्छन् । उनीहरुलाई समाजका प्रत्येक क्रियाकलापहरुमा जिज्ञासा उठ्ने
गर्छ । ती जिज्ञासाहरुलाई मेट्न उनीहरु प्रयोगात्मक रुपले सिकाइ गर्न
चाहन्छन् ।
जस्तोः हामीले एउटा बच्चालाई आगोको अगाडि
नजाउ पोल्छ भनेर जति भने पनि ऊ जान छोड्दैन । तर, जब उसलाई आगोको छेउ गएपछि
एक पटक पोल्छ तब ऊ आगोको छेऊ समेत पर्न मान्दैन । यसरी बालबालिकाहरु
हेरेर, अनुभव गरेर केहि नवीन कुरा सिक्न चाहन्छ । यसर्थ बालसहभागिताका
विषयलाई बाल्यवस्था देखि नै उठान गरिनु आवश्यक छ ।
बालसहभागितालाई प्रबद्र्धन गर्न सर्वप्रथम
त सम्वादले महत्वपूर्ण भूमिका खेल्छ । बालबालिकाहरुसँग विभिन्न विषयमा
छलफल गरिनु पर्छ । उनीहरुको अभिव्यक्तिमा हस्तक्षेप हुन दिनु हुदैन ।
उनीहरुको कुरालाई ध्यान पूर्वक वयस्क व्यक्तिहरु सुन्नु पर्छ ।
उनीहरुको आवाजको कदर गरिनु पर्छ । त्यसै
गरी बालसहभागिताको लागि सम्बन्धित निकाय, व्यक्ति वा संघसंस्थाले
बालबालिकाहरुको लागि उचित अवसरको सिर्जना गरिदिनु जरुरी छ । उदाहरणका लागिः
सञ्चार माध्यहरुले बालबालिकाहरुको प्रतिभा प्रष्फुटनका लागि सातामा एक दिन
बालबालिका विशेष परिशिष्टाङ्क निकाल्न सक्छन् ।
सम्बन्धित निकायले बालबालिकाहरुको अधिकार,
कर्तव्य र दायित्व सम्बन्धी पाठ्यसामग्री तयार गर्न सक्छन् ।
बालबालिकाहरुलाई रमाइलो गर्नका लागि बाल उद्यानको व्यवस्था, बालपुस्तकालय,
बाल संगठनहरुको गठन लगायतका विषयले बालसहभागिताको अधिकारलाई स्वभाविक रुपले
वृद्धि गर्छ ।
बालबालिकाहरु संगठित हुँदा उनीहरुको
नेतृत्व एवं व्यक्ति विकाशमा टेवा पुग्छ । बालसहभागिताको अधिकारलाई मूर्त
रुप दिन बाल क्लबहरुको गठनले महत्वपूर्ण भूमिका खेल्दछन् । वर्तमान
परिपे्रक्ष्यमा नेपालमा १३ हजार ३ सय ३१ बाल क्लबहरु क्रियाशील रहेको
केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्क छ ।
यसले बालसहभागिताको प्रबद्र्धनमा
बालक्लबहरुको गठनलाई अभियानकै रुपमा सञ्चालन गर्न सकिन्छ । यसका साथै
बालबालिकाहरुसँग सम्बन्धित ऐन, नीति, नियम बनाउँदा उनीहरुसँग परामर्श गरिनु
जरुरी छ, जसले बालसहभागिताको अधिकारलाई व्यवहारिकता दिन महत्वपूर्ण भूमिका
खेल्छन् ।
वर्तमान परिधिमा बालबालिकाहरुले
टोल/गाउँ/गाविस स्तरको बाल क्लब, जिल्ला स्तरको बाल क्लब सञ्जाल, क्षेत्र
स्तरको क्षेत्रीय बाल क्लब सञ्जाल र राष्ट्र व्यापी राष्ट्रिय बाल क्लब
सञ्जालको माध्यमबाट स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
स्तरमा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।
यसरी बालबालिकाहरु स्वयम्ले आफ्नो
समस्याहरु नीति निर्माण तहका सम्बन्धित व्यक्ति समक्ष राखेर नीतिमा
परिवर्तन गर्न, परिमार्जन गर्न, थपघट गर्न आफ्नो आवाज बुलन्द रुपले उठान
गर्दै आएका छन् । तर विडम्बना यसो भनिरहँदा पनि नेपालका सम्पूर्ण
बालबालिकाहरुले यस्तो अवसर प्राप्त गरेका छैनन् ।
बालसहभागिताका नाममा केन्द्रका निश्चित
बालबालिकाहरु या भनौं पहुँच भित्रका बालबालिकाहरुलाई मात्र सहभागिता
गराइरहँदा सम्बन्धित निकाय आफैंलाई काउकुती लाग्नु पर्ने हो ।
बालसहभागिताको बहस गरिरहँदा सम्बन्धित निकायको ध्यान यस विषयमा पनि
केन्द्रीत होस् ।
No one has commented yet. Be the first!