गौरव पोख्रेल
भाद्र २७, २०७२- सबैजसो अभिभावकको छोराछोरीको बारेमा समान मानसिकता पाइन्छ ।
डाक्टर बनून् । इन्जिनियर बनून् । पाइलट बनून् । वैज्ञानिक बनून् । आफ्ना छोराछोरीको कुन विधामा रुचि छ भन्नेचाहिँ सोच्नै कमै छन् ।
समाजले यही विधा राम्रो भन्छ । त्यही भएर अभिभावकले मेरो छोराछोरीलाई डाक्टर बनाइछाड्छु, इन्जिनियर बनाइछाड्छु भन्छन् । शिशु कक्षामा पढ्दै गरेको बालबालिकालाई तपाई के बन्नुहुन्छ भनेर सोध्दा उत्तर हुन्छ, ‘डाक्टर, इन्जिनियर वा पाइलट ।’
हाम्रो समाजले नै बाल मानसपटलमा यस्तो किसिमको संकुचित भावनाको बीजारोपण गरिदिएको छ । यसले कलिला बाल मनहरू आफ्ना भविष्यको लक्ष्य सोध्दा एकै किसिमको उत्तर दिन्छन् ।
एउटा डाक्टरलाई सीमित अस्पतालमा चिनिएलान् । सीमित बिरामीहरूले चिन्लान् । तर, चलचित्रका पर्दाहरूमा खेल्ने नायक, खेलकुदका क्षेत्रमा चम्किएका खेलाडीहरू, सञ्चार क्षेत्रका अब्बल व्यक्तित्व, सांगीतिक क्षेत्रमा चम्किएका गायकलाई सारा देशले चिन्छ । विश्वले चिन्छ । सडक बालकदेखि लिएर राष्ट्रपतिसम्मले चिन्छन् ।
त्यसैले भविष्यमा डाक्टर, पाइलट या इन्जिनियर बन भनेर बालबालिकाहरूलाई भन्नुभन्दा पनि उनीहरूको रुचि कुन क्षेत्रमा छ त्यो अभिभावकहरूले मनन् गर्नुपर्छ ।
सोही अनुरूपको शिक्षा दिन सके भविष्यमा ऊ आफ्नो रुचिको विषयमा सर्वोत्कृष्ट भएर निस्किन्छ । आफूले रोजेको विधाबाट धेरै धन कमाउन सकेन भने पनि उसले आत्मसन्तुष्टि भने पक्कै प्राप्त गर्छ । आफूले इच्छा गरेको क्षेत्रमा राम्रो पकड जमाउन सक्छ ।
पछिल्लो समय नेपाली समाजमा दुई किसिमका विद्यालयहरू विद्यमान छन् । सामुदायिक र संस्थागत । सरकारी स्वामित्वमा भएको विद्यालय सामुदायिक हुन् । निजी क्षेत्रबाट चलेका विद्यालयलाई संस्थागत विद्यालय भनिन्छ ।
हाम्रो समाजमा हुने खानेहरूले आफ्नो सन्तानलाई पढाउने विद्यालय संस्थागत र कमजोर आर्थिक अवस्था भएकाले पढाउने विद्यालय सामुदायिक हो भन्ने मान्यता छ ।
शिक्षा मौलिक अधिकारको संज्ञा दिइन्छ अचेल । समानताको नारा जति नै घन्काए पनि शिक्षा क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयले गम्भीर विभेद छ । धनी भनिएका परिवारका विद्यार्थीहरू चर्को शुल्क तिरेर संस्थागत विद्यालयमा पुग्छन् ।
अधिकांश गरिबीको रेखामुनि रहेका परिवारका सन्तान सामुदायिक विद्यालयमा गई शिक्षा लिन्छन् । के यही हो त समानता ? एउटा सानो गाउँ छ । जहाँ एक गरिब परिवार बस्छ । यसको छिमेकीको छोरा संस्थागत विद्यालयमा टाई, बेल्ट, जुत्ता लगाएर निक्कै सजिएर हिँड्छ । तर, यता त्यस गरिब परिवारको छोरा भने फाटेको लुगा, एउटा एक किसिमको चप्पल लगाएर सामुदायिक विद्यालयतिर जान्छ ।
छिमेकी काकाको छोरासँग उसको छोरा खेल्न मन गर्छ । तर, सामुदायिक विद्यालय पढ्ने भन्ने बित्तिकै उसको बुबाले त्यो फटाहासँग खेल्न जाने होइन भनेर सिन्डिकेट कायम गरिदिन्छन् ।
आम जनमानसको मानसिकतामा सामुदायिक विद्यालय पढ्ने जति सबै गरिब हुन्छन् भन्ने छ । यसरी विद्यार्थी/विद्यार्थीबीच पनि सामुदायिक र संस्थागत भनेर हाम्रो संकुचित मानसिकताले कलिला बाल मनहरूको बीच पनि वर्गीकरण गरेको छ ।
यो पंक्तिकारले पनि करिब ६ वर्ष संस्थागत विद्यालय र ४ वर्ष सामुदायिक विद्यालय अध्ययन गरेको हो । तर, मेरो व्यक्तिगत क्षमताको प्रस्फुटन र अन्तरनिहीत प्रतिभा सामुदायिक विद्यालयको कारण बढी उजागर भएको आभास हुन्छ ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू आफ्नो शिक्षकमा पूर्णत: भर पर्दैनन् । उनीहरू स्वाध्ययनलाई प्राथमिकता दिन्छन् ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै राम्रा हुन्छन् भन्ने होइन । त्यहाँ अँध्यारा पाटा झन् धेरै छन् । कडा वातावरणमा अध्ययनरत विद्यार्थीहरू हठात् सामुदायिक विद्यालयमा अध्ययन गर्न आउँदा बाँधेको कुकुर फुस्किएझंै हुन्छन् ।
सामुदायिक विद्यालयमा केही गर्न अग्रसर हुने विद्यार्थीहरूलाई अवसर धेरै छ । मोजमस्ती गरौं, रमाइलो गरौं भन्ने सोच राख्ने विषालु सावित हुन्छ ।
अहिले विशेषत: सामुदायिक अनि संस्थागत विद्यालयमा अध्ययरत टिनएजका केही विद्यार्थीहरू सही अभिभावकत्व र असल साथीको संगत गर्न नसक्दा धूमपान तथा लागूपदार्थ दुव्र्यसनको लतमा फसेका छन् ।
सामुदायिकमा दिइने उच्च स्वतन्त्रताले विद्यार्थीहरू यस्तो लतमा फस्ने सम्भावना प्रबल हुन्छ । अभिभावकले आफ्ना बालबच्चा के गर्दै छन् ? विद्यालयमा उनीको पढाइ कस्तो हुँदै छ ? को कोसँग संगत गर्दै छन् ? लगायतको कुरामा चासो दिन जरुरी छ ।
संस्थागत विद्यालयमा अध्ययन गराउँदा प्रत्येक साता विद्यालयमा सन्तानको प्रगति बुझ्न जाने त्यही अभिभावकले विद्यार्थीलाई सामुदायिक विद्यालयमा पठाउँदा महिनामा एक पटक पनि विद्यालय जान फुर्सद निकाल्दैनन् ।
अभिभावकले संस्थागत विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि निरन्तर आफ्ना छोराछोरी के गर्दै छन् ? उनीहरूको विद्यालयमा प्रस्तुति कस्तो छ ? लगायतको विषयमा चासो दिएका खण्डमा त्यो बच्चा अब्बल भएर निस्किन्छ ।
यदि अभिभावकले आफ्नो सन्तानप्रति आफ्नो नजर राख्न नसकेको खण्डमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्धकार हुन सक्छ ।
यो पंक्तिकारले यस वर्ष प्रवेशिका परीक्षा दिएको हो । आफ्नो सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनको अनुभवका आधारमा यी कुरा गरेको हो ।
सामुदायिक विद्यालयबाट विद्यालय शिक्षा पू्रा गर्नेहरूको मान्यता पनि संस्थागत विद्यालयको तुलनामा बढी नै हुन्छ । उनीहरूलाई सरकारले आरक्षण र विशेष सिटको समेत व्यवस्था गरेको छ ।
अब सरकारले सामुदायिक विद्यालय र पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै सामुदायिक विद्यालयमा दिइने शिक्षाको गुणस्तरीयताको बढोत्तरी गर्न विशेष कदम चाल्नु जरुरी छ ।
(लेखक पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालका सदस्य हुन् । ) From: Ekantipur.com
No one has commented yet. Be the first!